कोरोनापछि देशभर दुई सय ३६ ह्याचरी उद्योग बन्द, किसान विस्थापित

चितवन – कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । काेभिड–१९ (काेराेना) महामारीपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ ।
यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ । एक हप्तामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । लेयर्स चल्ला हप्तामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।
महासङ्घका उपाध्यक्ष पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ देखि ६० रुपैयाँसम्म पर्न जान्छ । लेयर्सको मूल्य एक सय २० देखि एक सय २५ रुपैयाँ पर्छ ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् ।
चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन् ।
सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन् । यसबाट एउटै ह्याचरीको करोडौं नोक्सान हुन्छ । एउटा ह्याचरी उद्योग सञ्चालन गर्न ४० करोड रुपैयाँभन्दा धेरै लगानी हुन्छ । रासस