गाजामा इजरायली हवाई आक्रमण : कम्तीमा ३ सय ३० जनाकाे ज्यान गयाे

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३ सय ३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका प्रमुख मोहम्मद जकौतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले लेखेको छ । इजरायली आक्रमण सयौं घाइते भएका र तीमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।
इजरायलले हवाई आक्रमण शुरू गर्नुअघि ह्वाइट हाउसलाई सूचना दिएको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका खबरमा उल्लेख छ ।
युद्धविराम बढाउने वार्ता सहमतिमा पुग्न असफल भएपछि इजरायली सेनाले ‘व्यापक’ आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हवाई आक्रमण हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले आफ्ना देशका बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र बिजुली आपूर्ति कटौती गरेको छ ।
हमासले इजरायललाई रक्षाहीन नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै मध्यस्थकर्ताहरूले इजरायललाई युद्धविराम उल्लङ्घनका लागि पूर्णरूपमा जिम्मेवार ठहराउनुपर्ने बताएको छ । हमासले यो आक्रमणले इजरायलका बाँकी बन्धकहरूको भविष्यलाई अन्योल बनाएको पनि जनाएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा शुरू गरेको कारबाहीमा अहिलेसम्म ४८ हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो गैरसनिक छन् ।
मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन् । अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश छ । तर वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन । एजेन्सी