सर्लाहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

चैत्र, २९ काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजारमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन् ।
आज बिहान करिब श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना ५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । साइकलमा ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीय छोरी अञ्जली कुमारी महतो सवार थिइन्। ठक्करबाट अञ्जलीको घटनास्थलमै मृत्यु भएको छ ।
साइकलको पछाडि बसेकी अञ्जलीकी १५ वर्षीय बहिनी पूजा कुमारी महतो सामान्य घाइते भएकी छन् । उनको उपचार श्रीनगरस्थित स्थानीय मेडिकलमा भइरहेको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी गौरीशंकर सर्लाहीबाट प्रहरी निरीक्षक श्यामसुन्दर साहको नेतृत्वमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो । ट्रक चालक हरिवन नगरपालिका–१०, ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विकलाई नियन्त्रणमा लिइएको छ ।