भारत र पाकिस्तानमा अप्राकृतिक रुपमा तापक्रम बढ्दो

भारत र पाकिस्तानमा गर्मीयामको प्रारम्भिक अवस्था मै तापक्रम अप्राकृतिक रुपमा बढेको छ । बढेको गर्मीको लहरले कतिसम्मको तापक्रम वृद्धिलाई मानिसले सहन सक्छ भन्ने क्षमताको परिक्षण गर्ने विज्ञहरुले बताएका छन् ।
भारत र पाकिस्तानमा बसोबास गर्ने करोडौं मानिसका लागि गर्मीयामको तापक्रम शुरूकै महिनामा सहन गाह्रो भइरहेको सीएनएनले जनाएको छ ।
दुवै देशले ‘मे’ र ‘जुन’ महिनामा गर्मीयामको सबैभन्दा धेरै तापक्रमको अनुभव गर्छन्, तर यस वर्षको गर्मी मौसम सामान्य भन्दा चाँडै आएको छ र यो लामो समयसम्म रहने अनुमान गरिएको छ । तापक्रम वृद्धिले मानिसको स्वास्थ्यसँगै ऊर्जा आपूर्ति, महत्त्वपूर्ण बाली र जीविकोपार्जनमा ठूलो दबाब दिइरहेको छ ।
त्यहाँको मौसम विज्ञान विभागका अनुसार यो हप्ता दुवै देशमा तापक्रम अझै खतरनाक स्तरमा पुग्ने प्रक्षेपण गरिएको खबरमा उल्लेख छ । यो हप्ता पाकिस्तानको बलुचीस्तानमा अधिकतम तापक्रम ४९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । यो तापक्रम औसतभन्दा ८ डिग्री बढी हो ।
यस्तै दिल्लीमा यो महिना तीन पटक ४० डिग्री सेल्सियस नाघेको छ । यो औसतभन्दा ५ डिग्री बढी भएको मौसम विभागले जनाएको छ । यस्तै राजस्थानको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ । एजेन्सी