Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

रुघाखोकीका बिरामी बढे, निको हुने अवधि लम्बिँदै

काठमाण्डौ – रुघाखोकीबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवम् क्लिनिकमा समेत बिरामीको चाप छ । रुघाखोकी लागेमा हप्ता दिनमा निको हुने गरेकामा पछिल्लो समय दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको छ ।

चितवनको भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडाका अनुसार हरेक तीन वर्षमा इन्फ्लुएञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने हुन्छ । इन्फ्लुएञ्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ । प्रायः यसबाट देखा पर्ने लक्षणहरू नाकबाट पातलो सिँगान बग्ने, टाउको, घाँटी र मांसपेसी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने हुन्छन् ।

डा. खतिवडाले अहिले रुघाखोकी लागेका बिरामीलाई निको हुन दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको बताउनुभयो । रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन धेरै समय लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा. शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीलाई जोखिम धेरै हुने भएकाले सचेत रहन उहाँको जोड छ ।

अहिलेको मौसम, वायु प्रदूषण, भोजभतेर, राजनीतिक समर्थन र विरोधका कार्यक्रममा हुने भीडभाडमार्फत पनि सङ्क्रमण फैलिएको डाक्टरले बताएका छन् ।

कोरोना सङ्क्रमणका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन, सकेसम्म मास्कको प्रयोग गर्न, भीडभाडमा नजान डाक्टरको सुझाव छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com