आम चुनाव देश बनाउने अवसर : ओली
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गते हुने आम चुनावलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस चुनावले लोकतन्त्र बचाउने र जनविरोधी तत्त्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले चुनावमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।
आज आइतवार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘आउँदो निर्वाचनबाट जनविरोधी तत्त्व पराजित भएमात्र देशले समृद्धिको गति लिने छ ।’
आफ्नै गृह क्षेत्रमा भएको कार्यक्रममा अध्यक्ष ओलीले चुनावमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गर्नुभयो । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उहाँको भनाइ थियो । रासस