Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

कीर्तिमानी चौधरी भन्छिन् : सपना पुरा भयो

बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गरिन् ।

जिल्लामा राम्रो गरेपछि उनी विभागीय टोलीको नजरमा पुर्नभयो । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो । विभागीय टोलीमा रहेर खेलकुदमा केन्द्रित भएर लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।

पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला १०० मिटर दौडमा यसअघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जित्नुभएपछि उनी असाध्यै खुशी छिन् ।

सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उनको खेल जीवनमा उत्साह थपिएको छ । यसअघि हिटमा लुम्बिनी प्रदेशका निशा चौधरीले १२ दशमलव १५ सेकेण्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोडिन् । निशाले निर्धारित दूरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाएकी थिइन् ।

यसअघि देवीमाया पनेरुको नाममा रहेको १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२ दशमलव १५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन्। यसअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण पदक हासिल गरिन् । त्यसबेला उनले १२ दशमलव १९ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । आठौँदेखि नै उनको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो तर उनी ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिँ नसोचेको बताउँछिन् ।

उनले भनिन्, “जिल्लास्तरीय खेल्दादेखि नै सबैले तिमीले राम्रो गर्छौ, भन्नुहुन्थ्यो, आफूलाई कमजोर सोचेको थिइनँ । राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएको हुँ । सक्छु कि सक्दिन भनेर मनमा लागिरहन्थ्यो । कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।”

चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउँछिन् । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उनले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताइन् ।

“जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द्र गुरुले ल्याउनुभयो । पछि आर्मीमा जोइन भएपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलेँ”, चौधरीले भनिन् । उनी विसं २०७४ देखि विभागीय नेपाली सेनामा आबद्ध छिन् ।

यसैगरी पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरीको एपिएफका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले निर्धारित दौड १० दशमलव ५६ सेकेण्डमा पूरा गरे । पार्कीले यसअघि सन् १९९९ मा रामकृष्ण चौधरीले १० दशमलव ७१ सेकेण्डको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । एथलेलिक्टमा एकैदिन सात स्वर्ण पदकको छिनोफानो भएको छ ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आजदेखि पोखरामा थप विभिन्न १२ खेल भएका छन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु भएका हुन् । प्रतियोगिताअन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएका थिए । अधिकांश प्रदेशका आठ जिल्लामा खेल भइरहेका छन् ।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com