हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्।
बुटबलमा लुम्बिनी केवलकारको बिहीबार दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीताजस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन,’ उनले भने।
प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर भएको हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राखे।
अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग-व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उनले उल्लेख गरे।
‘यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद् हो। कृषि, म्यानुफ्याक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थीर रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले उच्च मुद्रास्फिति र अस्थीर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाए। सेतोपाटी बाट