टर्कीमा एक कारखानामा विस्फाेट हुँदा कम्तीमा पाँच जनाकाे ज्यान गयाे, ४० जनाभन्दा धेरै घाइते
टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फाेट हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।
राजधानी अङ्काराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा विस्फाेट भएको बीबीसीले जनाएको छ । टर्कीको सरकारी टेलिभिजनले विस्फाेटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको देखाएको छ ।
अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विस्फाेट सुरु भएको हो । क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेको जनाउनुभएको छ । उहाँले विस्फोट हुनुअघिको अवस्था जाँच गरिरहेको बताउनुभएको छ ।
उहाँले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताउनु भएकाे बीबीसीमा उल्लेख छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ ।एजेन्सी