हुम्लामा हवाई सेवा सञ्चालन
भदौ,१० काठमाडौं । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।
गत आइतबार उडान गरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगन्जबाट समिट एयरले पहिलो उडान सिमकोट गरेको हुम्लाका स्टेसन इन्चार्ज गोविन्द लामाले जनाए ।
हवाई सेवा सञ्चालन हुँदा जिल्लाबाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ ।
नेपालगन्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान गरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो ।