थप शिक्षक कर्मचारीहरूआन्दोलनका लागि काठमाडौं आउँदै
असोज,५ काठमाडौँ । आन्दोलनका लागि थप शिक्षक कर्मचारीहरू काठमाडौं आउन थालेका छन् । विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको नेपाल शिक्षक महासंघले बताएको छ ।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । हजारौंको संख्यामा आन्दोलन गर्दै आएका छन् । ७७ वटै जिल्लाबाट थप शिक्षक कर्मचारी आउने क्रम जारी रहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलन अवधिभर १ लाख ५० हजार शिक्षक काठमाडौंमा उतार्ने महासंघको लक्ष्य छ । हालसम्म ७० हजारको हाराहारीमा शिक्षक कर्मचारीहरूमा आन्दोलनमा रहेको महासंघले दाबी गरेको छ ।