Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

पर्यटकका रोजाइमा खरको छानोको घर

sharethis sharing button

चितवनको पहाडी भेगमा पनि खरको छानो भएका परम्परागत घर भेटिन गाह्रो हुन्छ। २०७२ को भूकम्पले क्षति पुगेपछि प्रायः घरका छानामा जस्तापाता प्रयोग भएका छन्। इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घर भने भूकम्पबाट जोगियो। 

टीकाले सो घर भत्काएर नयाँ बनाउने सोच पनि बनाएकी थिइन्। तर खरले छाएको घर नै पर्यटकको रोजाइमा परेपछि उनले त्यो घरलाई भत्काउने सोच बदलेर मर्मतसम्भार गर्न लागिन्।

‘भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो  खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु,’ उनले भनिन्।

यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ। स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोरको  कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ। एकपटक पुगेकाले इच्छाकामना गाउँपालिकाको वडा नं– २ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन्। घरले मौलिकता दिएको छ। पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन्।

यहाँ पर्यटकको चहलपहल हुन थालेको धेरै भएको छैन। स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौँडा, वीरगञ्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पर्थ्यो। तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि  मायाटार अनकन्टार बनेको थियो। केही वर्षयता फिस्लिङ– शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो। 

‘यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन्,’ उनले भनिन्, ‘घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाएको छ, पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो। तर, बाटो पिच भएपछि त धेरै मान्छेहरु आउन थालेका छन्।’

वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानीयको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताए।

‘सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छनै स्थानीयले उतपादनको गरेको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ,’ अध्यक्ष चेपाङले  भने।

 काठमाडौँबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर–फिस्लिङ सडक प्रयोग गर्ने गरेका  छन् । यस कारण पनि  यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन्। यो बाटो पृथ्वीराजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको  पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com