Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ यस गाउँको परिचय।

सङ्घीय मन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।

शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ।

नेपाल एकीकरण गर्ने क्रममा बहादुर मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै विसं १७६९ मा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा जिल्ला पीपलथोक धातथलोका जगजजित थापालाई पाँच सय रोपनी जग्गा लालमहोहर लगाएर दिएको इतिहास शिलालेखमा उल्लेख गरिएको इतिहासका जानकार एवं स्थानीय राजेश पन्तले बताए।

काठमाडौँ उपत्यकालाई अन्य राज्यको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न उपत्यकाको विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा पाँच सय रोपनी जग्गा दिइएको मगर गाउँमा स्थापित शिलालेखमा उल्लेख छ।

समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचति भएको थियो। गोरखा जिल्लाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पीपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख गरिएको छ। त्यही पीपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ। 

सहरीकरण बढ्दै गएपछि मगर गाउँमा सबै समुदायको बसोबास हुँदै आएको स्थानीय बताउँछन्।

मन्त्री आवास निर्माण सुरु भएदेखि आवास क्षेत्रमा बाटो फराकिलो हुनुपर्छ भनेर स्थानीयले विरोध गरिरहेका स्थानीय पन्तले बताए।

‘मन्त्री निवास निर्माण गर्ने बहानामा ऐतिहासिक बस्तीको बेवास्ता गर्नुभएन । आवास क्षेत्र वरपर ११ मिटर चौडा बाटो चाहिन्छ भनेर विरोध गरेका हौँ,’ उनले भने।

ऐतिहासिक कालदेखि स्थापित भएको गाउँको परिचय गुम्ने हो कि भन्ने चिन्ता बढेको पन्तको भनाइ छ ।

‘सहरीकरण बढ्दै गएपछि मगर गाउँको परिचय लोप नहोस् भनेर शिलालेख निर्माण गरेका छौं। शिलालेखमा एकीकरणको समयमा मगर समुदायले पृथ्वीनारायण शाहलाई पुर्‍याएको योगदानका बारेमा उल्लेख छ।’

मगर गाउँ चोक छेउमा विसं २०६५ मा निर्माण गरिएको पशुपतिनाथ मन्दिर छ । त्यही मन्दिरको मुख्य गेटमा मगरगाउँको इतिहास झल्किने शिलालेख तयार गरिएको छ। मन्त्री आवास निर्माण नहुँदा आवास क्षेत्र खेतीयोग्य जमिन भएको पशुपतिनाथ मन्दिरका पुजारी सुदर्शन अर्यालले बताए।

‍’पहिले यहाँ धान फल्थ्यो । अहिले हेर्दा हेर्दै ठूलाठूला भवन निर्माण भएका छन्,’ उनले भने।

अहिले धेरैले मगरगाउँलाई मगर गाउँ नभनेर आवास क्षेत्र भन्ने गरेका पजारी अर्यालले बताए। मगर गाउँको परिचय बिस्तारै हराउँदै गएको उनको भनाइ छ । मन्त्री आवास निर्माण भएपछि स्थानीयले फराकिलो बाटो र बस्ती सुरक्षा तथा पार्क हुनुपर्ने माग गर्दै आएका छन्।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण सकिए पनि संघीयमन्त्री भने अझै काम सम्पन्न भएको छैन। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com