कैलाश सिरोहियालाई रिहाइ गर्न जसपाको माग
जेठ,९ काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । आज सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।
अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको आफूहरूको ठम्याई रहेको बताएका छन् ।