भारतमा लोकसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान
भारतमा लोकसभा चुनावअन्तर्गत आज सातौं एवम् अन्तिम चरणको मतदान भएको छ । आज आठ वटा राज्य तथा केन्द्र शासित प्रदेशका ५७ सिटमा लोकसभा सदस्य चुन्न मतदान भएको हो ।
आज बिहारका आठ, हिमाचल प्रदेशका चार, झारखण्डका तीन, ओडिशाका ६, पञ्जाबका १३, उत्तर प्रदेशका १३, पश्चिम बंगालका नौ र चण्डीगढको एक सिट मतदान भएको हो । आज भएको मतदानका लागि योग्य मतदाताको सङ्ख्या १० करोड ६० लाख जना रहेको थियो ।
आज प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पूरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जुन ४ तारिख अर्थात् आउँदो मंगलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको पाँच सय ४३ जना सदस्यका लागि विभिन्न चरणमा गरी चुनाव भएको हो । एजेन्सी