सिरहामा छोरा र बुहारीको कुटपिटबाट वृद्धको मृत्यु
असोज, ९ काठमाडौं । सिरहामा छोरा र बुहारीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। घरायसी विवादको क्रममा लाठी प्रहारबाट औरही गाउँपालिका–३ खजनपुर बस्ने ६५ वर्षीय भालेश्वर यादवको सोमवार राति मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार जेठा छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र उनका श्रीमती रेणु कुमारी यादवले सोमवार साँझ भालेश्वरलाई कुटेका थिए।
‘देवरानी जेठानीबीच झगडा भैरहँदा उनले दुबैजनामाथि कराएछन । झगडा नगर्न भन्दा भनाभन भयो त्यसै क्रममा छोरा बुहारीले लाठीले हानेपछि उनी गम्भीर घाइते भएछन,’ उनले भने ।
प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा राति करिब १२ बजे बाटोमै भालेश्वरको मृत्यु भएको हो ।