अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
असोज, १५ काठमाण्डौ । यातायात व्यवसायीले सार्वजनिक बसको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गएको शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढी पहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको र गाडी चलाउने नचलाउने अन्योलमा रहेको भन्दै व्यवसायीले टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ शुरू गरेकै दिन १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी भएको बताउनुभयो । उहाँले आज महासङ्घको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने र सबैको राय सुझाव समेटेर निर्णय गर्ने बताउनुभयो ।