Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

रवि लामिछानेको रिहाइका लागि ७७ जिल्लामै सिडिओलाई ज्ञापन पत्र बुझाउने रास्वपाको तयारी

सहकारीको बचत ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन रास्वपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ।

पार्टी केन्द्रीय सचिवालयले शनिबार राति निर्देशन पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन निर्देशन दिएको हो।

‘जिल्लामा हुनुभएका साथीहरूले सम्बन्धित सिडिओलाई ज्ञापनपत्र बुझाउने भन्ने कुरा छलफल भइराखेको छ। त्यसका लागि जिल्लामा भएका साथीहरूलाई परिचालन गरेर तयारी अवस्थामा रहनु भन्नुपर्छ। तर यसको लागि पोखरा आउन छोडेर जिल्लामा बस्नु चाहिँ भएन,’ तहगत समितिहरूलाई पठाइएको सन्देशमा भनिएको छ।

ज्ञापनपत्र बुझाउन जाँदा जिल्लामा सम्भावना भएका सबैलाई खबर गर्ने, कुनै एक स्थानमा भेटघाट हुने, ज्ञापनपत्र बुझाउनको लागि सिडिओ (प्रमुख जिल्ला अधिकारी) वा सिडिओ नभए सहायक सिडिओको समय लिने, ज्ञापनपत्र बुझाउन जाँदैछौं भनेर मिडियाहरूलाई पनि साथै लाने, ज्ञापन पत्र बुझाउन सबैजना तयार भइसकेपछि ज्ञापनपत्र पढेर सुनाउने र सिडिओलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने र त्यसपछाडि छोटो अनौपचारिक कुरा गरेर सिडिओसँग बिदा हुने भनेर पनि सचिवालयले सूचित गरेको छ।

यसैबीच रास्वपाले प्रत्येक जिल्लाबाट सय—सय जना नेता कार्यकर्ता पोखरा उतार्न आन्तरिक निर्देशन दिएको छ। पार्टी सचिवालयका नेताले शनिबार राति ११:३० बजे यस्तो सन्देश पठाएको र सबै जिल्लालाई सय—सय जना नेता—कार्यकर्ता पोखरा पठाउन भनिएको एक नेताले जानकारी दिए। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सातै प्रदेशका महामन्त्रीहरूलाई त्यस्तो निर्देशन दिएका हुन्।

रास्वपाका ती नेताले जानकारी दिएअनुसार पार्टी सभापति लामिछानेलाई संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्पक्षमा पठाउने सम्भावना रहेकाले आन्दोलनको दबाबबाटै त्यहाँसम्म पुग्न नदिने उनीहरूको योजना छ। त्यसका लागि पार्टीका उपसभापति द्वय स्वर्णिम वाग्ले र डिपी अर्याललाई पोखरा केन्द्रित गरेको छ।

ती नेताले दिएको जानकारीअनुसार शनिबारको प्रदर्शनमा अपेक्षित रूपमा मानिसहरू सहभागी नभएकाले प्रत्येक जिल्लालाई निर्देशन नै दिएर कार्यकर्ता उतार्न भनिएको हो। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com