Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

ललितपुर महानगरले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर सफा गर्ने

ललितपुर – ललितपुर महानगरपालिकाले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर आउँदो शनिवार सफा गर्ने भएको छ ।

महानगरले हिजो आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहोरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरका मेयर चिरीबाबु महर्जनले गएको असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने तथा नदी किनारा सफा गर्ने काम शनिवारदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहोरले ललितपुर शहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको उहाँले बताउनुभयो । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेको मेयर महर्जनको भनाइ छ ।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्ने बताउनुभयो । यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले बाढी पहिरोका कारण भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गर्नुभयो । ललितपुर महानगरका वडा नम्बर ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com