नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
७ मंसिर, काठमाडौं । नेपाली कबड्डीको फ्रेन्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो सार्वजनिक भएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले उक्त लोगो सार्वजनिक गरेका हुन् ।
लिगका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष हमित बेगानीले नेपाल कबड्डी लिग खेल मात्र नभएर सारा युवाको सपना रहेको र नेपाली कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य रहेको बताए ।
‘एनकेएल खेल मात्र नभएर सारा नेपालीको सपना हो । नेपाली कबड्डीलाई विश्वमञ्चमा पुर्याउने प्रयास हो । युवाहरुलाई माथि उठाउन, विश्वसामु नेपालको प्रतिभा पुर्याउन हो,’ उनले भने ।
एनकेएलको पहिलो संस्करणमा सहभागी हुने नेपालको ६ सहरको नाम समेत सार्वजनिक भएको छ ।
पहिलो संस्करणको लिगमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउनेछन्
अखिल नेपाल कबड्डी संघका महासचिव अरजिन्द झाले नेपाली कबड्डीका लागि आज खुशीको दिन भएको बताए । कुनै दिन कल्पना गरेको कुरामा काम गर्दै जाँदा त्यो सपना पूरा हुन लागेको बताए ।
पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गत वर्ष नै गरिसकेको छ । महिला कबड्डी लिगका लागि पनि एस्ट्रोनिक्ससँग सम्झौता गरेको संघका महासचिव झाले बताए ।
पछिल्लो समय नेपाली कबड्डीले उपलब्धी हात पारेको भन्दै १९औं एसियन गेम्समा कबड्डीले समूह खेलमा ऐतिहासिक पदक ल्याउन सफल भएको बताए । अनलाइनखबर