बयानका लागि रविलाई लगियो चितवन
मंसिर, १७ काठमाण्डौ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज काठमाण्डौबाट चितवन लगेको छ । सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका रविलाई आज बयानका लागि चितवन लगिएको प्रहरीले बताएको छ । लामिछानेलाई हवाईजहाजमार्फत चितवन लगिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।
अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेको हिजो काठमाण्डौमा बयान सकिएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई गएको बिहीवार पोखराबाट काठमाण्डौ ल्याइएको थियो ।