प्रधानमन्त्रीको चीन भ्रमण फलदायी रहेको निष्कर्ष
मंसिर, २६ काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलवार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
फ्रेमवर्क फर बीआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको र सत्ता साझेदार दुई दलबीचमा जुन समझदारी भएको छ त्यसले बीआरआईलाई निष्कर्षमा पुर्याउन भूमिका खेलेको एमालेको निचोड छ ।
नेता ज्ञवालीले बीआरआईमा नेपाली कांग्रेस र एमालेबीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गएको मङ्सिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्नुभएको थियो । नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्कको पूर्ण पाठ हिजो परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिकसमेत गरेको छ ।