पूर्वमेयर सिंहको शोकमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने निर्णय
पुस, १ काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले ३ दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
त्यस्तै, पौडेलका अनुसार भोलि पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ । पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो । उनको पार्थिव शरीरलाई बिहान १ बजेसम्म निवासमै श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
त्यसपछि उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको थियो । सानेपामा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू श्रद्धाञ्जली दिन पुगेका थिए ।