कोरियामा जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६२

पुष, १४ काठमाडौं । दक्षिण कोरियामा विमानस्थलभित्रै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ। स्थानीय समयअनुसार आज बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले बताएको छ । दुई जनालाई भने जिवितै उद्धार गरिएको छ।

मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले बताएको छ ।
जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।