Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति

पुष, १८ काठमाडौं । मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको छ । छात्रवृत्तिमा मधेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले अवसर पाउने मधेश प्रदेशको शिक्षा निर्देशनालयले बताएको छ ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका छोरी र जेहेन्दार छात्रालाई उच्च शिक्षामा सहुलियत पुर्‍याउन छोरी छात्रवृत्ति योजना बढाइएको बताउनुभएको छ । मन्त्रिपरिषदबाट निर्णय भई अघि बढेको यससम्बन्धी प्रक्रिया अब प्रदेश शिक्षा निर्देशनालयले अघि बढाउने उहाँले बताउनुभयो ।

यो अवसर मधेश प्रदेशका ८ वटा जिल्लाका ४ समूहमा विभाजन गरिएका छात्राले पाउनेछन् । यी चार समूहमा दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रा पर्नेछन् । यो छात्रवृतिका लागि पर्याप्त आवेदन प्राप्त भएका र अब तिनको छनौट चरण शुरू भएको प्रदेश शिक्षा निर्देशनालयका निमित्र् प्रमुख ठूलोबाबु दाहालले बताउनुभयो ।

निर्देशनालयले गएको मङ्सिरमै यससम्बन्धी सूचना गरेर आवेदन आह्वान गरेको थियो । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ ।

छात्रवृत्तिमा साधारण र प्राविधिक धारतर्फ गरी शैक्षिक शुल्कबापतको २५ हजार र ३५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । मधेश प्रदेशमा जन्मिएर यस प्रदेशकै स्थायी ठेगाना भएका समूह विभाजनभित्रका छात्रा छात्रवृत्तिमा छानिने मापदण्ड छ । यद्यपि पठनपाठन भने देशभित्रका कुनै पनि जिल्लाका सामुदायिक सार्वजनिक शिक्षण संस्थामा गरेका हुनसक्ने व्यवस्था रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com