जय ट्रफी मेन्स एलाइट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाइ
माघ, ३ काठमाडौँ, । जय ट्रफी मेन्स एलाइट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
विभागीय डर्बी पुलिसलाई जिताउन स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्नुभयो । अन्तिम दिन जितका लागि एक सय तीन रनको मध्यम लक्ष्य पछ्याएको आर्मी २९.२ ओभरमा ७४ रन जोड्दै अलआउट भएको थियो ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउनुभयो । कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
आर्मीलाई कमजोर बनाउन बलिङमा पुलिसका सागरले ६ तथा ललितले चार विकेट लिनुभयो । प्लेयर अफ दि म्याच बन्नुभएका सागरले विकेट लिने क्रममा १४.२ ओभरमा एक मेडनसहित ३५ रन खर्चिनुभयो ।
यस्तै ललितले १५ ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ रन खर्चिनुभयो । दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो ।
१३२/९ को स्थितीमा तेस्रो दिनको खेल सुरु गरेको पुलिसले सात रन थाप्दै बाँकी एक विकेट गुमाएको थियो । पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन बनाउनुभयो । बलिङमा आर्मीका शाहब आलम र बसिर अहमदले पाँच पाँच विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३/९ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन एक सय ७० रनमा अल आउट भएको थियो ।
जसमा आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानका संस्थापक जयनरायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीको यस पहिलो संस्करणमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।
राउन्ड रोविन लिगपछि पुलिस र आर्मीले लिग चरणमा शीर्षस्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय विधामा खेलाइएको हो ।