Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

तालिका बनाएर नागरिकका सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन

काठमाण्डौ – नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्न, नागरिकको गुनासो सुन्न र सुझाव लिनका लागि निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको हिजो बसेको बैठकले मन्त्रीहरुलाई बाँकी पाँच दिन सम्पूर्ण रुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुनसमेत निर्देश गरेको हो ।

पार्टीका प्रदेश समिति, जिल्ला, क्षेत्र एवम् स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्न र उपयुक्त सुझाव कार्यान्वयन गर्न पनि बैठकले निर्देश गरेको छ ।

पार्टी सभापति एवम् संसदीय दलका शेरबहादुर देउवाको अध्यक्षतामा उहाँको निवासमा बसेको बैठकले सांसदहरुको सल्लाह, सुझाव र नागरिकका अपेक्षालाई ध्यानमा राखी कामकारबाही अगाडि बढाउन संसदीय दल कार्यसमिति र मन्त्रीहरुले सदस्यहरुसँग समन्वय गर्ने निर्णय गरेको छ ।

सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले कार्य गर्न महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्न मन्त्रीहरुलाई बैठकले निर्देश गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी संसदका विषयगत समितिहरुमा विचाराधीन विधेयकलाई टुङ्गोमा पुर्‍याउन सक्रियता साथ काम गर्न कांग्रेस सम्बद्ध तत् समितिका सभापतिसहितका सांसदहरुलाई पनि निर्देशन दिइएको छ ।

मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्नसमेत निर्देशन दिइएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, बोलपत्र आह्वान हुन नसकेका, निर्माण शुरू भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमीका लागि सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिइएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com