लुम्बिनी मेडिकल कलेजमा उपचाररत बिरामीले हाम फालेर गरे आत्महत्या
काठमाडौं १४ वैशाख । पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक जना बिरामीले हाम फालेर आत्महत्या गरेका छन्।
लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घरनजिकै नालीमा लडेर घाइते भएका ४२ वर्षीय सोमैको अस्पतालमा उपचार भइरहेको थियो। श्रीमती र छोरीले अस्पतालमा कुर्न बसेका पनि थिए। तर मंगलबार राती अस्पतालको पाँचौं तलाबाट सोमैले हाम फालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका थिए।
नालीमा घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो।