तेह्रथुम प्रस्थान गरे पुष्पकमल दाहाल प्रचण्ड
![](https://www.yetikhabar.com/wp-content/uploads/2025/01/032520820prachanda-barsaman-2-1024x768.jpg)
माघ, १४ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा गएका छन् । उनी आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि गएका छन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।
प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् ।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ ।