टिपरको ठक्करबाट १ जनाको मृत्यु
माघ, २१ काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले ठक्कर दिदा १ महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र ३ ०१–०२२ च ६७७८ को कार र ग १८ प ७७५२ को स्कुटरलाई ठक्कर दिएको तनहुँ प्रहरीले बताएको छ ।
उक्च ठक्करबाट पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्री गम्भीर घाइते भई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, उक्त स्कुटर चालक २१ वर्षीय दिपेश कुमार क्षेत्री सामान्य घाइते भएका छन्। मृतक र स्कुटर चालकका आमा छोरा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।