शनिवारसम्म हमासले थप बन्धक रिहा नगरे आक्रमण शुरू गर्ने इजरायलको चेतावनी

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच फेरि युद्ध शुरू हुने सङ्केत देखिएको छ । पछिल्ला घटना क्रमले युद्ध शुरू हुन सक्ने सङ्केत देखिएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यही शनिवारसम्म हमासले बन्दी मुक्त नगरे आक्रमण शुरू गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफ्ना सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै शनिवार गर्ने भनिएको बन्दीको रिहाइ रोक्ने घोषणा गरेको थियो । हमासको घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताउनुभएको थियो ।
सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण शुरू गरेको थियो । गएको जनवरी १५ तारिखमा युद्धविराम सम्झौता भएको थियो ।
यो सम्झौतासँगै एकअर्काले बन्दी मुक्त गर्दै आएका थिए । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या निम्तिएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।
नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको ठानिएको थियो । तर उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । एजेन्सी