प्रणय दिवसको अवसरमा रानीमहलमा भीड

पाल्पा – आज फेब्रुअरीको १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपालमा पनि मनाईंदैछ । विशेष गरी युवायुवतीले प्रणय दिवस मनाउने गर्छन् । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ, चकलेट र विभिन्न उपहार दिने चलन छ ।
रोमका एक शासकले सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । भ्यालेन्टाइन डे आउनु एक हप्ता अघिदेखि नै सप्ताहव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।
विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा भीडभाड लाग्ने गर्छ । तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा बनाएको रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ ।