दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले गरेको क्षतिपूर्ति घोषणा अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे दुई लाख भारु दिइनेछ ।
गएराति भएको घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो । एजेन्सी