तनहुँको ऐनापहराबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी

तनहुँ – तनहुँका आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले दुई करोड रुपैयाँ लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ ।
झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।
ऐनापहरा दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई ५० रुपैयाँ, विद्यार्थीलाई ३० रुपैयाँ र अन्य पालिका तथा बाह्य पर्यटकका लागि एक सय रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ ।
गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा रहेको सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । रासस