मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

फागुन, २० काठमाडौं । मधेस सहिद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । मधेस भवनभित्रको आफ्नो कोठामा मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेको धनुषा प्रहरीले बताएको छ ।
जनकपुर प्रहरीका अनुसार सदस्य यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका छन्। आफ्नै बेडमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता बरुणबहादुर सिंहले जानकारि दिए । घटना बिहान ७ बजेको भएको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रवक्ता सिंहका अनुसार मृतक यादवको कोठामा जाँदा उनले बान्ता गरेको समेत पाइएको छ ।
अहिलेसम्म मृत्युको कारण भने नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा उनले हिजो आफ्नो घर परिवारका सदस्यसँग कुराकानी गरेका थिए ।
प्रहरीका अनुसार कुराकानी गर्दा यादवले आफूलाई सन्चो नभएको जानकारी गराएका थिए । उनले सहकर्मीहरूलाई अस्वस्थ रहेको समेत बताएका थिए । मृतक यादवको शव बिहानै पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।