Yeti Khabar

२०८१ फाल्गुन २०, मंगलवार - Tue Mar, 2025 -

थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयाे

काठमाण्डाै – काठमाण्डाैकाे थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा झन्डै ५ लाख लिटर पानी खेर गएको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिनुभयो ।

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रूपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उहाँले बताउनुभयो । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताउनुभयो । पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्शन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामा झैं पानी वितरण गरिने प्रवक्ता राईले बताउनुभयो । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com