राप्रपाको मोटरसाइकल र्याली

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको प्रदर्शनका कारण काठमाडौं चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक) भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् ।
लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरुलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको थियो । राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्याली आयोजना गरेको छ । कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्यालीका सहभागीहरु बिजुलीबजारमा जम्मा भएका थिए ।