राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजदेखि सुरु

फागुन, २६ काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न आज र भोलि काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्दै छ।
सम्मेलनमा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीति लिइएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान उद्घाटन गर्नेछन्। श्रम र सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सम्मेलन गर्न लागिएको मन्त्री शरतसिंह भण्डारीले बताए ।
श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना गर्ने क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ।
रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न लागिएको मन्त्रालयले जनाएको छ। उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने मन्त्रालयको विश्वास छ।
सरकारले गर्न लागेको यो पाँचौं सम्मेलन हो। सम्मेलनमा ५ वटा प्यानल छलफल हुने छ। सरकारले सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगारी प्रवर्द्धनसम्बन्धी १० बर्से रणनीति योजनामा समावेश गर्ने जनाएको छ।
सुझावलाई मन्त्रालयले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि रणनीतिक योजना बनाउन समावेश गर्नेछ।