Yeti Khabar

२०८१ चैत्र ६, बुधबार - Wed Mar, 2025 -

इजरायली सेनाबाट गाजा पट्टीमा ठूलो आक्रमण : दुई सय जनाभन्दा धेरैकाे ज्यान गयो

इजरायलको सेनाले गाजा पट्टीमा ठूलो हवाई आक्रमण गरेको छ । पछिल्लो आक्रमणबाट दुई सय जनाभन्दा धेरैकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा हमास लडाकू समूहका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बीबीसीले उल्लेख गरेको छ । कतिपय घाइते भएका छन् । उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि आक्रमणको क्रममा निसाना बनाइएको थियो ।

गएको जनवरी १९ तारिखमा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो । गाजा युद्धविरामको थप विस्तार गर्ने वार्ता सम्झौतामा पुग्न असफल भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले पछिल्लो पटक आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले आक्रमण गरिरहेको बताएको छ ।

हमासलाई दबाब दिन गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ ।

इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ तारिखमा लडाइँ शुरू भएको थियो । हमासले त्यस बेला दक्षिण इजरायलमा एक हजार दुई सय जना भन्दा धेरैको हत्या गरेको थियो । हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो ।

आक्रमणपछि इजरायलले सैन्य कारबाही थालेको थियो । त्यस क्रममा अहिलेसम्म झण्डै ५० हजारको ज्यान गएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन् ।

अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो, जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश गरिएको छ । तर वार्ताको प्रकृया अघि बढ्न सकिरहेको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com