प्रचण्डले भने,छाप त हानियो पट्याउने कसरी ?
काठमाडौं ३० वैशाख । बिहानको ठीक ७ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान केन्द्रमा प्रवेश गरे। उनको मतदाता नामावली थियो भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा। उक्त वडाको नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिले उनैले भोट हालेका थिए।
प्रचण्डले करिब एक मिनेट खर्चिएर मतपत्रमा स्वस्थिक छाप लगाए। त्यसपछि कर्मचारीतर्फ हेर्दै उनले भने, ‘छाप त हानियो अब यसलाई पट्याउने कसरी हो ?’
प्रचण्डले पट्याउन मेसो नपाएपछि नजिकै रहेका कर्मचारीले उनलाई पट्याउन सिकाइदिएका थिए।
कर्मचारीले पट्याइदिएपछि प्रचण्डले मतपत्र मतपेटिकामा हालेका थिए।
मतदानपछि पत्रकारहरुसँग प्रतिकृया दिँदै प्रचण्डले मतदान गर्न खासै गाह्रो नभएको प्रतिकृया दिए। ‘पहिले सामान्य अवस्थामा पनि केही प्रतिशत मत बदर हुन्थ्यो। अहिले अल्ली बढ्ने कुरा त छ तर यसले तात्विक फरक पर्दैन,’ उनले भने, ‘मलाई कुनै अलमल भएन।’
उनले आफैं हुर्के बढेको ठाउँको बुथमा आएर मतदान गर्न पाउँदा खुसी महसुस भएको बताए। ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रकृयामा स्वभाविक कुरा हो। जित हार हुनकै लागि निर्वाचन हो। त्यसकारण जितमा अनावश्यक हौसिने र पराजयमा पुरै निरास हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन,’ उनले भने, ‘मुख्य कुरो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्छ भन्ने हो।’
राष्ट्रिय मावि तोरिखेतस्थित मतदान केन्द्रमा मतदान गरेकी महिला तथा बालबालिका मन्त्री उमा रेग्मीले भोट हाल्न पाँच मिनेट जति लागेको बताइन्। लामो मतपत्र भएका कारण ज्येष्ठ नागरिक र निक्षरलाई गाह्रो हुने र बदर मतको संख्या बढी हुने सम्भावना देखिएको बताइन्।
‘मैले त पाँचै मिनेटमा सकें। केहीलाई त २५ मिनेटसम्म लागेछ,’ मन्त्री रेग्मीले भनिन्, ‘नपढेका र ज्येष्ठ नागरिकलाई चाहि भोट हाल्न गाह्रै होला जस्तो देखियो।’