लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हलको प्रधानमन्त्रीले गरे उदघाटन
जेठ,२ काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको आज बिहान उदघाटन गरेका छन् ।
५ हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज बिहान उदघाटन गरेका हुन् ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार यो सभा हल मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना हो । लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले यो सम्मेलन केन्द्र बनाएको हो ।
यस्तो छ विशेषता
छाता शैलीमा बनेको सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । सभाहलको चारैतिरबाट चाइनिज इँटाको पर्खाल छ भने हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका छन् । हलमा हुने भाषण, प्रवचन जुनसुकै कुनाबाट सुन्न सकिने गरी निर्माण गरिएको छ । हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिलाई १ वर्गमिटर स्थान राखिएको छ ।
एउटा ब्लकमा ४ जना मानिस बस्ने व्यवस्था गरिएको छ । आवतजावतको लागि २ मिटर चौडाइ भएको ठाउँबाट भित्र–बाहिर गर्ने मिल्ने गरी डिजाइन गरिएको छ ।
योजनाअनुसार ३ वर्षमा निर्माण पूरा हुनुपर्ने उक्त केन्द्र ४ वर्षमा सम्पन्न भएको हो । कोरियन प्रविधिबाट छाना निर्माण गरिएको हलको भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग भएका छन् । सभाहल गर्मीमा चिसो र जाडोमा तातो हुने वातानुकुलित प्रविधिसमेत राखिएको छ । ईपीएस प्यानल प्रयोग गरिएको यो प्रविधिले ६ देखि ८ डिग्री तापक्रम तलमाथि हुन सक्ने लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले बताए । सभाहल भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ भने सभा हलको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने र साउण्ड प्रुफ प्रविधि राखिएको छ । हलको भुइँमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ ।
२०७७ असारभित्रै सम्पन्न गरिसक्नुपर्ने सम्झौताको शर्त भएपछि कोरोना महामारीको कारण २ वर्ष ढिलो गरी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बनेपछि २०७९ साल असार मसान्तसम्म समय थप गरिएको थियो ।
पहिलो चरणमा सभाहल, दुईटा शौचालय र कन्ट्रोल रूम लगायतका काम भएका थिए भने दोस्रो चरणमा कम्पाउन्ड वाल, पाहुनाहरूको लागि प्रतिक्षा कक्ष, ल्याण्ड स्केप, भिआईपीलाई आराम गर्न, छलफल र बैठक गर्न दुइटा भिआइपी कक्ष निर्माण पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन लगायतका काम भएका छन् । दोस्रो चरणको कामको लागि पनि २७ करोड रुपैयाँ खर्च भएको भट्टराईले बताए ।
सभा हलमा बौद्ध सम्मेलनमात्र नभई सार्क, विमष्टेकजस्ता अन्तराष्ट्रिय ठूला सम्मेलन समेत आयोजना गर्न सकिने कोषले जनाएको छ । सभा हलसंगै भिआइपीको लागि कार पार्किङ, २०÷२० जनाले एकैपटक शौच गर्न मिल्ने गरी चार वटा शौचालय निर्माण भएका छन् ।
योजना प्रमुख भट्टराईका अनुसार अब ल्याण्डस्केपको एक प्रतिशत काम बाँकी छ । अनलाईन खवर बाट