हारेपछि राप्रपाका उम्मेदवारले भने, यो ऋण मैले तिर्न नसके पार्टी र परिवारले तिर्छ
राप्रपाबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हार व्यहोरे पछि आम जनताले लगाएको जनमतको ऋण आफूले नसके पार्टी र परिवारले तिर्ने बताएका छन् । उनले आफ्नो बाँकी समय जनताको सेवामा लाग्ने प्रण गर्दै जनताले निर्वाचनमा दिएको जनमतको ऋण कुनै कारणबाट तिर्न नसकेको खण्डमा पार्टी र परिवारले तिर्ने विश्वास व्यक्त गरेका हुन् ।
हेटौँडा उपनगरपालिकाका सम्पूर्ण जनताको लागि आफू सदैव लागि पर्ने उनको भनाई छ । उनले निर्वाचनमा सफल हुने सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई र सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । नगर र नागरिकको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरूले पक्षपात नगरी काम गर्न पनि उनले आग्रह गरे । ‘कुनै पनि पक्षपात नगरी, मेरो र तेरो नभनी नगरको विकास र नगरका भाइ बहिनीहरूको भविष्य, किसान, मजदुर, आदिवासी, जनजाति, दलित अल्पसङ्ख्यकहरूको उन्नति र प्रगतिको लागि नयाँ आशाको किरण झुल्केको छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने, ‘साथसाथै हेटौँडा उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बन्नेछ भन्ने विश्वास मैले लिएको छु ।’
निर्वाचित जनप्रतिनिधिहरूले जनताको स्वास्थ्य उपचारका लागि हेटौँडामा नै राम्रो व्यवस्था गर्न पहल गर्नुहुनेछ भन्ने उनले विश्वास व्यक्त गरे । ‘जनताको स्वास्थ्य उपचारको लागि उच्च स्तरीय सेवा सुविधा दिलाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । मैले पहिले नै भनिसकेको थिए, हेटौँडाका जनता, किसान, मजदुर, महिला, असहाय, गरिब, विद्यार्थी, युवक भाइ बहिनीहरूसँग मेरो मन र मुटुको गठबन्धन छ । र यो पवित्र गठबन्धन सत्ता स्वार्थ भन्दा माथि उठेको गठबन्धन हो भन्ने अहिलेको यो मतले प्रमाणित गरेको जगजाहेर भइसकेको छ ।’ उनले भने ।
उनले आफूलाई हलो चुनाव चिन्हमा मत दिने सम्पूर्ण मतदाताहरूलाई पार्टी र व्यक्तिगत रूपमा धन्यवाद व्यक्त गरे । सो मतको लागि आफू व्यक्तिगत रूपमा ऋणी भएको र सधैँ ऋणी नै हुने र त्यसले आफूलाई सधैँ ऊर्जावान् तथा उत्साहित बनाउने उनले बताए । उनले आफूले पाएको जनमत र विश्वासलाई कहिल्यै मर्न नदिने र कहिल्यै गद्दारी नगर्न वचन पनि व्यक्त गरे । आफ्नो बाँकी जीवन मकवानपुरमा नै बसेर जनताको सेवा र विकासमा समर्पित गर्ने प्रण गरे ।अनलाइन खबरबाट प्रकाशित