पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा राजनीतिज्ञ आमिरको निधन
पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ।
पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो। तर अस्पताल पुग्दाखेरी उनको निधन भइसकेको चिकित्सकहरूले बताएका छन्।
उनको मृत्युको वास्तविक कारण अहिलेसम्म यकिन नभएको पाकिस्तानी प्रहरीले जनाएको छ। आमिरको शवको पोस्टमर्टम गरिने बताइएको छ।
टिभी कार्यक्रमका प्रस्तोता रहेका आमिर पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पिटिआइमा सक्रिय थिए। धार्मिक टेलिभिजन कार्यक्रम आलम अनलाइनु बाट चर्चा पाएका उनी सन् २०१८ मा पिटिआइबाट टिकट पाएर सांसद बनेका थिए।
उनको मृत्युका कारण नेसनल एसेम्ब्लीको बैठक शुक्रबार साँझ ५ बजेसम्मलाई स्थगित गरिएको छ।
हालै आमिर उनको तेस्रो बिहेलाई लिएर विवादमा आएका थिए। यसपछि उनले देश छाड्ने घोषणा पनि गरेका थिए।
बिबिसी