एसपीपीमा नयाँ ट्वीस्ट : सेनाले पठाएको पत्र सार्वजनिक, ओली थिए प्रधानमन्त्री
स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अक्टोबर २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।
यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।
बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।
उनी सन् २०१५ अक्टोबरमा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।
सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएको स्वीकार गरे । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।
पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा नभएको उनको भनाइ छ ।
के छ पत्रमा ?
मिति : २०७२ कार्तिक १० ९२७ अक्टोबर २०१५०
महामहिम एलेना पी टेपलिज
राजदूत, संयुक्तराज्य अमेरिका
महाराजगञ्ज, काठमाण्डौं ।
विषय : नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम
१.नेपाल सरकारको निर्देशन बमोजिम नेपालको लागि निकट भविष्यमा ‘नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसएसपी)’ स्थापनाको औपचारिक अनुरोध गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।
२.सैन्य सीप तथा अनुभव आदानप्रदान गर्न, प्रतिरक्षा ज्ञान साझेदारी गर्न, साझेदारी क्षमता अभिवृद्धि गर्न र आपसी सुरक्षा सहयोगलाई अगाडि बढाउन यो कार्यक्रमले दीर्घकालीन, स्थायी तथा आपसी फाइदाको सुरक्षा सम्बन्ध विकास गर्नेछ भन्ने बलियो विश्वास गरिएको छ । कार्यक्रमले विपद तयारी, संकट व्यवस्थापन, हवाई लजिष्टिक, महत्वपूर्ण पूर्वाधार र प्राकृतिक स्रोतको सुरक्षा, व्यवसायीकरण र अफिसरएनसीओ विकासजस्ता साझा रुचीको क्षेत्रमा सहयोग प्रदान गर्नसक्छ ।
३. नेपाली सेना यस अवसरमा काठमाडौंस्थित संयुक्तराज्य अमेरिकाको दूतावासलाई यो विषयमाथि उच्च ध्यान पुर्याउन पुनः अवगत गराउँछ ।
हस्ताक्षर
(राजेन्द्र क्षेत्री)
जनरल
चिफ अफ आर्मी स्टाफ, नेपाली सेना
बोधार्थ:
नेपाल सरकार,
रक्षा मन्त्रालय
सिंहदरबार, काठमाण्डौं ।
नेपाल सरकार
परराष्ट्र मन्त्रालय रातोपाटी बाट