हुम्लामा पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर
हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेका छन्।
गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्यांकमा दलित बालबालिका शिक्षाबाट बञ्चित रहेको पाइएको हो।
सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य विद्यालाय पठाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि सिमकोटका ६९२ बालबालिकामध्ये १५ प्रतिशत (१०६ जना) विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ।
गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारका अनुसार आठ वडा रहेको सिमकोटमा सबभन्दा बढी वडा नं ६ मा २७ बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन्।
तथ्यांक अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८ र वडा नं ३ मा ६ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन्।
सिमकोट गाउँपालिकाभर बालविकास केन्द्रमा १३६, प्राथमिक तहमा २४८, माध्यमिक तहमा १७२ र प्राविधिक शिक्षातर्फ ३० दलित समुदायका विद्यार्थी अध्ययनरत छन्।
स्नातकोत्तर उत्तीर्ण गर्ने दलितको संख्या शून्य
सिमकोटका आठ वटै वडामा स्नातकोत्तर तह उत्तीर्ण गर्ने दलितको संख्या शून्य रहेको छ।
एक हजार ७७५ जनसंख्या भएको दलित समुदायबाट कोही पनि स्नातकोत्तर तह अध्ययन गरेका छैनन्।
पारिवारिक कारण, कमजोर आर्थिक अवस्थालगायत कारणले दलित समुदायको पहुँच उच्च शिक्षा अध्ययनमा नरहेको पाइएको छ।
तीन सय ५५ दलित परिवार रहेको सिमकोट गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने तीन जना मात्रै छन्।
उनीहरू वडा नं ५, ६ र ७ का एक एक जना रहेका छन्। सिमकोट–८ बाट एसइई उत्तीर्ण ४९ र कक्षा १२ सम्म अध्ययन गर्ने १२ जनामात्रै रहेका छन्।
‘दलित समुदायलाई आर्थिक अवस्थाले निकै सताएको छ, छाक टार्नकै निम्ति बालबालिकाबाहेक अन्य घर बाहिर छन्’, गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष सुनारले भने।
अभिभावक घरमा नहुँदा बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहन बाध्य भएको तथ्यांकबाट खुलेको छ।
बालबालिका पशु चराउन र भाइ-बहिनीको हेरचाहमा जुट्नुपर्ने कारणले दलित समुदायका बालबालिका विद्यालय जान सकेका छैनन्। रासस